प्रधानमन्त्री ओलीद्वारा मेचीनगरमा मानव सेवा आश्रमको शिलान्याससँगै सेवा केन्द्रको उद्घाटन
झापा । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर–४ स्थित मानव सेवा आश्रमको शिलान्याससँगै सेवा केन्द्रको उद्घाटन गरेका छन् । दुई दिने गृहजिल्ला भ्रमणका क्रममा झापा आएका प्रधानमन्त्री ओलीले आइतबार दिउँसो एक समारोहका बीच ‘मानवता प्रवर्द्धन महाअभियान’ को मानव सेवा आश्रम पाँच वर्षीय गुरुयोजनाको शिलान्यास र १९ औँ सेवा केन्द्र कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आश्रमका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन् । त्यस्तै उनकी धर्मपत्नी राधिका शाक्यले दुई महिनाको पेन्सन दिने पनि घोषणा गरेकी छिन् । त्यसैगरी कार्यक्रममा सहभागि मन्त्री, सांसद, मेयर, उपमेयर तथा सामाजिक व्यक्तित्वहरुले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने परिकल्पनासहित झापामा मानव सेवा आश्रम स्थापना गरिएको हो । स्थानीय रामबहादुर प्रधानका परिवारले २ बिगाहा ५ कट्ठा जग्गा दान गरेपछि २०८१ साउनदेखि मानव सेवा आश्रम स्थापना गरिएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । सडक आश्रित मानवहरुको उद्धार गरी यस आश्रममा ल्याएर राखिन्छ । यस सेवा केन्द्रमा हाल १० महिलासहित ४३ जना सडक आश्रित रहेका छन् ।
४७ जनामध्ये चारको निधन भइसकेको प्रवक्ता बर्तौलाले बताए । २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको सेवा केन्द्र स्थापना यो अभियानको सुरुवात गरिएको जनाइएको छ । ‘मानवता प्रवर्द्धन महाअभियान’ अन्तरगत खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका १० हजार ८२७ सडकआश्रित मानवको उद्धार गरिसकेको बताउँदै उनले भने, ‘तीमध्ये ५ हजारजना भन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनस्र्थापना गराइसकेका छौं ।’
जसमध्ये १ हजार ३७२ जना ब्रम्हलिन हुनु भएको र मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका १ हजार ८७० जना मानवसेवा आश्रमका मुलुकभर रहेका २५ वटा सेवा केन्द्रमा आश्रित रहेको उनको भनाई छ ।