मोबाइल लुट्नकै लागि झापामा वृद्धाको हत्या, दुई जना पक्राउ
झापा । कलको ह्याण्डिल र फरुवा प्रहार गरी झापामा एक वृद्धाको हत्या गर्ने दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित पुष्पाञ्जली टोलकी ८१ वर्षीया फूलमणि सोरेनको हत्या आरोपमा झापा गाउँपालिका- ७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका- ७ का २४ वर्षीय अशोक यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनीहरूले वृद्धा सोरेनका हत्या गरी शवलाई गाईबस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेर फरार भएका थिए । घरका अन्य सदस्य मकै रोप्न गएका बेला सोरेन हत्या गरिएको थियो ।
उनको शव शनिबार दिउँसो साढे ४ बजे फेला परेको परेको थियो । वृद्धाको टाउको र चिउँडोमा कलको ह्याण्डिल र फरुवा प्रहार गरी हत्या गरिएको डीएसपी चन्दले बताए । घटना पश्चात् नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट आएको डष्सहितको प्रहरी टोलीको सहयोगमा अनुसन्धान गर्दा उनीहरू झापा गाउँपालिका- ७ मदरगाछबाट पक्राउ परेका थिए ।
प्रहरीले उनीहरूको साथबाट वृद्धाबाट लुटिएको एउटा मोबाइल र साइकलसहित हत्यामा प्रयोग गरिएको कलको ह्याण्डिल र फरुवा समेत बरामद गरेको डीएसपी चन्दको भनाई छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।