पत्रकार महासङ्घ झापाको चुनाव : सत्तापक्षीय र प्रतिपक्षीय पत्रकारबीच प्रतिष्पर्धा हुने
नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि केन्द्रमा भएको मनोनयन दर्तालाई हेर्दा झापामा पनि सत्तापक्षीय र प्रतिपक्षीय पत्रकारहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी र नेपाली काँग्रेसनिकट प्रेस युनियनको संयुक्त प्यानलसँग प्रतिपक्ष नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको नेतृत्वमा अरू दल समर्थक पत्रकारहरूको प्यानलको प्रतिस्पर्धा हुने भएको छ । प्रेस सेन्टरको नेतृत्वमा बन्ने प्यानलबाट डिकेश लामा अध्यक्षमा उठ्ने भएका छन् । सत्ता पक्षीय पत्रकारहरूको प्यानलसंघ प्रतिस्पर्धा गर्न आफूहरूको प्यानल बन्ने र सो प्यानलबाट अध्यक्षमा आफूले उम्मेदवारी दिने लामाले बताए । उनी वर्तमान कार्यसमितिका सचिव हुन् ।
त्यस्तै सत्ता गठबन्धनमा भागबन्डाका क्रममा झापामा प्रेस चौतारीले अध्यक्षको उम्मेदवार पाउने सम्भावना देखिएको छ । धेरै जिल्लामा भागबन्डा मिलिसकेपनि झापा, कास्की , पर्सालगायत ६ वटा जिल्लामा अध्यक्षको उम्मेदवारी कसलाई दिने भनेर टुङ्गो लागि नसकेको प्रेस चौतारीका नेता गणेश पोखरेलले बताए ।
यसअघि एकराज गिरी प्रेस युनियनबाट अध्यक्ष भइसकेकाले यस पटक झापामा चौतारीलाई नै अध्यक्ष दिनुपर्ने लबिङ भइरहेको बुझिएको छ । झापामा दुई ठुला संगठन मिल्दा उम्मेदवार बन्ने अवसर नपाउने आकाङ्क्षीहरूको स्वतन्त्र प्यानल बन्ने सम्भावना पनि रहेको छ ।
झापामा पत्रकार महासंघका २२० जना सदस्य रहेका छन् । महासङ्घको प्रदेश समितिको मनोनयन मङ्सिर २४ र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता रहेको छ ।