भुटानका राजा आज नेपाल आउने, स्वयम्भू र बौद्धनाथको दर्शन गर्ने
भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। रानी तेत्सुन पेमा वाङचुकसहित तीन-चार-घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।
यो भ्रमण राजनीतिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ। त्यसैले नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। भुटानी राजा नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलको सुरक्षा कडा बनाइएको छ।
गत असोजमा घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यसहित भुटानको भ्रमण गरेका थिए। भ्रमणका लागि भुटानका राजा जिग्मेले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएका थिए।