झापामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरा घाइते
झापाको गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बाबु छोरा घाइते भएका छन् । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बहुन टोलस्थित भित्री सडक खण्डमा तुलाचन चौकबाट टटुवामारी चोकतर्फ जाँदै गरेको प्र१–०१–००१ क ९७८ नम्बरको देवकोटा बोर्डिङ स्कुलको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६ प ५०६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीश कुमार राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनका बुवा ५५ वर्षीय फागु राजवंशी घाइते भएका हुन् ।
टाउको र दाहिने खुट्टामा चोट लागेका अन्वारीशकुमार सामान्य घाइते छन् भने फागुको अवस्था गम्भीर रहेको छ । दुवै जना घाइतेलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ ।
बस र बस चालक गौरीगञ्ज ३ तेलगानी बस्ने ४१ वर्षीय एगराज कटुवाल इलाका प्रहरी कार्यालय गौरीगञ्ज र मोटरसाइकल प्रहरी चौकी कोरोबारीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।