२०८३ बैशाख २३ गते , बुधबार

स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने इलामकी मगरसहित तीन पक्राउ

sajilo news
झापा
२०८१ मंसीर १३ गते , विहीबार
स्वास्थ्यकर्मीलाई  ‘हनी ट्रयाप’ मा पार्ने इलामकी मगरसहित तीन पक्राउ

आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्र्याप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्र्यापमा पारेर रकम असुलेका हुन् ।

घटना २०८१ मङ्सिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । वर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे । कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।

यसपछि अर्की अभियुक्त समृद्धि मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मङ्सिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो । थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।

घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । अरू व्यक्तिको खोजी जारी छ । उनीहरूको साथबाट ७५ हजार रुपैयाँको एसिया बैंकको चेक, नगद २० हजार ५ सय रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।

दीपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

सम्बन्धित समाचार