झापामा गौहत्या : सुरुङ्गामा प्रदर्शन र चक्काजाम, गाई काट्ने आलम पक्राउ
गौहत्याको घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै झापाको सुरुङ्गामा विरोध प्रदर्शन र चक्काजाम गरिएको छ । कनकाई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए । स्थानीय लीला सङ्ग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका व्यक्तिहरूले सो गाई चोरी गरी काटेका थिए । गाईधनी सिलवालले दूध दुहुन जाँदा गाई नदेखेपछि चोरी भएको भनी इलाका प्रहरी कार्यालय, सुरुङ्गामा जानकारी गराएका थिए ।
उता आज दिउँसो १ बजेतिर सङ्ग्रौलाको घरभित्र उक्त हराएको गाई काटिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।यसैबीच सो घटनाको विरोधमा आज दिउँसो ४ः२० बजेदेखि सङ्ग्रौलाको घर अगाडी गौ वंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०÷३५ जना धर्मगुरु, स्थानीय करिब २५० जनाको सङ्ख्यामा भेला जम्मा भई ‘गौ हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद , कारबाही गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
मृत गाईलाई साँझ ५ः२० बजे घटनास्थलबाट गाडीमा राखेर सुरुङ्गा चोकस्थित पूर्व पश्चिम राजमार्गमा ल्याई उनीहरूले चक्काजाम गरेका थिए । उक्त चक्काजाम साँझ ६ः१० बजे खुलेको छ भने प्रदर्शनकारीहरूले उक्त मृत गाईलाई कनकाई नदीमा लगेर अन्त्येष्टि गरिरहेका छन् ।
त्यस्तै साँझ ६ः३० बजेदेखि कनकाई –४ कोटीहोमस्थित कनकाई पुलनजिक पूर्वपश्चिम राजमार्गमा मृत गाई राखेको गाडीलाई सडकमा तेर्साएर पुनः चक्काजाम गरिरहेको जनाइएको छ । यसैबीच प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी –४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको छ । मुख्य आरोपी आलमसहित केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अन्यको बारेमा खुलाइएको छैन ।