२०८१ मंसीर २० गते , विहीबार

झापाको कनकाई ६ मा उपनिर्वाचन : वडाध्यक्षमा ९ जनाको उम्मेदवारी

sajilo news
झापा
२०८१ मंसीर २ गते , आईतबार
झापाको कनकाई ६ मा उपनिर्वाचन : वडाध्यक्षमा ९ जनाको उम्मेदवारी

आसन्न स्थानीय तह उपनिर्वाचनका लागि झापाको कनकाई नगरपालिका ६ मा एक जना स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन्।  यही मंसिर १६ गते हुने उपनिर्वाचनका एक स्वतन्त्र र ८ राजनीतिक दलसहित ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए। 

स्वतन्त्र उम्मेदवारतर्फ लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रानगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन्।

सबैभन्दा पहिला स्वतन्त्र उम्मेदवार ओलीले मनोनयन दर्ता गराएका थिए भने अन्तिममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रेष्ठले दर्ता गराए। ९ जनामध्ये ८ जना पुरुष र एक जना महिला उम्मेदवार रहेका छन्। कांग्रेस, एमाले, माओवादीलगायतका ठुला दलका उम्मेदवारहरू र्‍यालीसहित मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ। 

मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ। त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। कनकाई ६ मा गत २०७९ भएको स्थानीय तह निर्वाचनमा एक हजार पुरुष र एक हजार ५० महिला गरी कुल दुई हजार ५० जना मतदाता रहेका थिए। 

स्थानीय तहको निर्वाचनपछि गत भदौ ३१ गतेसम्म (उपनिर्वाचनको मिति घोषणाअघि) उक्त वडामा आठ जना मतदाता बढेर दुई हजार ५८ पुगेको निर्वाचन कार्यालय झापाले जनाएको छ। एमालेका तर्फबाट पाँच सय आठ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो। 

२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा विजयी भएका थिए।

सम्बन्धित समाचार