२०८३ असार ५ गते , शुक्रबार

भद्रपुर जेसीजद्वारा गन्धर्व साँझका साथ जेसीज सप्ताह समापन

sajilo news
झापा
२०८१ मंसीर १ गते , शनिबार
भद्रपुर जेसीजद्वारा गन्धर्व साँझका साथ जेसीज सप्ताह समापन

भद्रपुर । भद्रपुर जेसीजले झापाको सदरमुकाम रहेको भद्रपुरमा ठुलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति बहुउद्देश्यीय भवनको विषय उठान गर्दै सुरु गरेको जेसीज सप्ताह आज गन्धर्व साँझ आयोजना गर्दै समापन गरेको छ ।जेसीज सप्ताहभरि भद्रपुर जेसीजले विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेको अध्यक्ष टिकाराम पाण्डे ‘दीपक’ले जानकारी दिए ।

जेसीज सप्ताह मूल आयोजक समितिका संयोजक तथा भद्रपुर जेसीजका कार्यकारी उपाध्यक्ष अभिषेक प्रधानले जेसीज सप्ताहभरि भद्रपुर जेसीजले पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा, भद्रपुर १० स्थित जेसीज गाउँमा शैक्षिक सामग्री वितरण, बालबालिकासँग जेसीज कार्यक्रम, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, २९ गते हिमाली माविमा नाक, कान, घाँटीसम्बन्धी बृहत् स्वास्थ्य शिविरलगायतका रचनात्मक कार्यक्रम आयोजना गरेको थियो ।

भद्रपुरस्थित होटेल उडल्याण्ड परिसरमा भद्रपुर जेसीका अध्यक्ष टिकाराम पाण्डे ‘दीपक’को अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका प्रमुख तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा झापाको कचनकवलका गन्दर्भहरुले सारंगीको सुमधुर धुनका साथ गीतहरू प्रस्तुत गरेका थिए ।  नेपालको मौलिक लोकबाजा सारङ्गी र गन्धर्व कलाकारहरूको कला संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जेसीज सप्ताह समापनको अवसरमा गन्धर्व साँझ आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए । 

जेसीजका महासचिव सरोज ढकालले सञ्चालन र सप्ताह मूल आयोजक समितिका संयोजक भद्रपुर जेसीजका कार्यकारी उपाध्यक्ष अभिषेक प्रधानले स्वागत गरेको समापन समारोहमा नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई, राष्ट्रिय अनुसन्धानका उपरीक्षक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, अर्जुनधारा जेसीजका अध्यक्ष वसन्त बुढाथोकी, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै भद्रपुर जेसीजले गन्धर्व साँझ आयोजना गरेर नेपाली मौलिक सङ्गीत प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

 

सम्बन्धित समाचार