२०८३ असार ५ गते , शुक्रबार

मेची–महाकाली उद्धार यात्रा: २९ औँ दिन २३१ जनाको उद्धार

sajilo news
झापा
२०८१ कार्तिक २६ गते , सोमबार
मेची–महाकाली उद्धार यात्रा: २९ औँ दिन २३१ जनाको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा सोमबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरि नगरपालिकाबाट १ जना गरी १२ जना सडक आश्रित मानवहरू उद्धार गरिएको हो ।  सोमबार उद्धार भएका ८ जना पुरुष र ५ जना महिलालाई मानव सेवा आश्रम रानीवन सेवा केन्द्रमा आजै गृह प्रवेश गराइएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २९ औँ दिन काठमाडौँमा आइपुग्दा २ सय ३१ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार भएका १ सय ७७ जना पुरुष र ५४ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् । यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

राष्ट्रिय उद्धार टोली सोमबार काठमाडौँका सडक पेटी तथा सार्वजनिक स्थानमा रहेका सहयोगापेक्षी मानवहरूको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली मङ्गलवार काठमाडौँ र भक्तपुर क्षेत्रमा रहेका सडक आश्रित मानवहरूको उद्धार तथा सेवामा रहनेछ । 

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ । मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो । 

सम्बन्धित समाचार