झापा आउँदै गरेको ट्रक पाँचथरमा दुर्घटना, लिफ्ट मागेका पौडेलको मृत्यु
ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको भारपामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।हिलिहाङ–६ ढकाल गाउँनजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै ज्यान गएको हो ।
उनी सो ट्रकमा गोपेटारबाट लिफ्ट मागेर फिदिम आउँदै गरेका थिए । दुर्घटनामा परी ट्रकका चालक इलाम सूर्योदय नगरपालिका–१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र ट्रक मालिक झापा बिर्तामोड १ चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएका छन् ।उनीहरूको शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । अवस्था जटिल रहेकाले उनीहरूलाई पाँचथर अस्पतालबाट बिर्तामोडस्थित बीएण्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्रक हिलिहाङ–१ हिंसापुरदेखि झापाका लागि गोलिया बोकेर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनीलाल साहले बताए ।ट्रक ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।