२०८१ मंसीर २१ गते , शुक्रबार

भुइँकटहर खेती : थोरै मेहनत, मनग्ये आम्दानी

sajilo news
रासस
२०८१ कार्तिक २२ गते , विहीबार
भुइँकटहर खेती : थोरै मेहनत, मनग्ये आम्दानी

सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । भुइँकटहर खेतीमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले बताए। वार्षिक एक लाख खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ । 

उनले भने, 'भुइँकटहरको माग राम्रो छ । बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु, अर्को वर्ष आम्दानी अझै बढ्छ ।'

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्नँ । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० सम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ । 

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उनले बताए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । 

सम्बन्धित समाचार