छठको लागि कृषि थोक बजार बिर्तामोडमा साढे ३७ लाखको केरा बिक्री
छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेका हुन् । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।
झापा जिल्लाको एक मात्र केरा बजार कृषि थोकमा इलामको दानावारी , महमाई , झापाको खुदुनावारी , शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ ।त्यहाँबाट झापाका विभिन्न ठाउँसँगै विराटनगर र काठमाडौँसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । व्रतालुहरूको सङ्ख्या थपिँदै गएपछि केराको माग बढेको हो ।