दमकमा श्रीमानद्वारा श्रीमतीमाथि हतियार प्रहार
झापाको दमकमा श्रीमानले श्रीमतीमाथि हतियार प्रहार गरी सख्त घाइते बनाएका छन् । गएराति ८ बजे दमक नगरपालिका-९ शान्ति चोक बस्ने ७१ वर्षीय राजेन्द्र शाहले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५९ वर्षीया दिलमाया ठकुरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।
दुवै खुट्टामा हतियार प्रहारबाट घाइते दिलमायालाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ । बोल्न सक्ने उनको अवस्था मध्यम रहेको छ । हतियार प्रहार गर्ने राजेन्द्रलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता धनकुटा चौबिसे गाउँपालिकामा एक व्यक्तिले आफ्नै खुट्टा काटेका छन् । हिजो बिहान ९बजे धनकुटा चौबिसे गाउँपालिका–५ बोधे बस्ने ५६ वर्षीय झुसे देवानले रुखको सेउला झार्ने क्रममा खुकुरीले आफ्नै दाहिने खुट्टाको घुँडामा काटेका हुन् । घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।