झापामा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु, एक घाइते
झापाको अर्जुनधारामा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ४ बजे अर्जुनधारा नगरपालिका- ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ तीव्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बायाँ साइडमा रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका- ६ बस्ने २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो ।
टाउकोमा र छातीमा चोट लागेर गम्भीर घाइते लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । चालकले मादक पदार्थ सेवन गरेको बताइएको छ ।