दमक हत्या प्रकरण : निरौलाको शव सात दिनपछि परिवारले बुझ्यो
दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या भएको सात दिनपछि अन्त्येष्टि भएको छ । गत मंगलबार दमक– ३ स्थित मावा खोलानजिक जग्गा विवादमा निरौलाको शव सोमबार परिवारले बुझेर अन्त्येष्टि गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्नमध्ये एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमान थापाविरुद्ध पक्राउ पुर्जी नभएपछि परिवारले शव बुझेको थिएन । थापासहित जाहेरी परेका सात जनाको पक्राउ पुर्जी जारी भएपछि शव बुझेर अन्त्येष्टि गरिएको निरौला परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जाहेरी परेका सात जनाविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको छ ।
घटनामा संलग्नमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम पक्राउ परेका छन् । उनीहरूसँगै घटनास्थलमा देखिएका दुई वटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जाहेरी परेकामध्ये थापा, एमाले कार्यकर्ता नमकुमार चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ र सुनसरी इटहरीका डेबिट घले फरार छन् ।