वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई लक्षित गरी वित्तीय साक्षरता कक्षा सञ्चालन
भद्रपुर । वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गएका परिवारका सदस्यलाई लक्षित गरी भद्रपुरमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आप्रवासी स्रोत केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच वित्तीय साक्षरता कक्षाको उद्घाटन गरेको हो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो कक्षाको उद्घाटन गरेका हुन् । भद्रपुर ४ स्थित तारा नगरका महिलाहरूलाई २१ हप्ते वित्तीय साक्षरता प्रदान गरिने कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए । विदेशमा गएपछि परिवारका सदस्यहरूले जानुपर्ने कानुनी प्रावधान र ध्यान दिनुपर्ने विषयहरू सो कक्षामा सिकाइने उनले बताए ।
सहभागीहरूलाई केन्द्रका सहजकर्ता दुर्गा दास र नमिता पाण्डेले सहजीकरण गर्ने जनाइएको छ । भद्रपुर ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेका थिए ।