२०८१ कार्तिक १९ गते , सोमबार

झापामा दुर्घटना बढेको बढ्यै, ट्राफिक प्रहरीको ध्यान रकम असुलीमा मात्रै

sajilo news
झापा
२०८१ कार्तिक ७ गते , बुधबार
झापामा दुर्घटना बढेको बढ्यै, ट्राफिक प्रहरीको ध्यान रकम असुलीमा मात्रै

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत केही ट्राफिक प्रहरीको असुली धन्दाले सीमा नाघेको छ । यहाँ कार्यरत सहायक हवल्दार विष्णु बजगाईँ र वरिष्ठ सई अर्जुन सोडारीको असुली धन्दाले सीमा नाघेको हो ।

उनीहरूले मातहतको बिट, यातायात संघ, र सवारी चालक अनुमति पत्र लागि लिइने ट्रायल परीक्षामा सहभागीलाई पास गराई समेत रकम असुल्दै आएको पाइएको छ । झापाका ट्राफिक प्रहरी प्रमुखलाई बुझाउनुपर्ने भन्दै उनीहरूले काँकडभिट्टाको ट्राफिक बिटबाट मासिक २५ हजार, चारआली बिटबाट २० हजार, बिर्तामोडको नयाँ बसपार्कबाट १५ हजार रुपैयाँका दरले रकम असुल्ने गरेका छन् ।

त्यस्तै बुधबारे बिटबाट ३० हजार, सुरुङ्गा बिटबाट २० हजार, केर्खा बिटबाट १५ हजार, दमकबाट १५ हजार, गौरादह बिटबाट १५ हजार रुपैयाँका दरले रकम असुली गरिँदै आएको ट्राफिक स्रोतले जानकारी दिएको छ । यसैगरी केही महिना अघि चारआली बिटको प्रमुख भएर बसेका सोडारीले त्यहाँ पनि राम्रै असुली धन्दा चलाएको जानकारहरू बताउँछन् ।

यी सबै रकम ती बिटहरूले समेत सवारी साधनवालाहरूसँगै असुलेर जिल्लामा पठाउने गरेको छन् । यसका अतिरिक्त सोडारीले एस्काभेटर, ब्याक्हो लोडर, ट्याक्टर लगायतका हेभी सवारीको ट्रायलमा पास गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको छ । ट्रायलको पैसा सोडारी एक्लैले कुम्ल्याउने गरेको भन्दै ट्रायलमा बस्ने अन्य ट्राफिकले गुनासो समेत गर्ने गरेका छन् ।

त्यस्तै झापाका सडकमा दैनिक कुद्ने ट्याक्टर, ट्रिपरलाई ओभर लोड गरेको, भारी नछोपेको बाहानमा दैनिक १ हजार जरिमाना गर्ने गरेका छन् । तर सोडारीलाई मासिक पैसा बुझाउने सर्त गरेमा जे गर्दा पनि छुट दिने गरेको एक ट्रिपर व्यवसायीले बताए । उनका अनुसार ट्याक्टर र ट्रिपरले मासिक ५ हजार रुपैयाँ ट्राफिकलाई बुझाएपछि केही मतलब हुँदैन ।

यसैगरी पूर्वाञ्चल ट्याक्सी संघबाट मासिक ५० हजार, सगरमाथा, सूर्योदय यातायातका व्यवसायी सङ्गठनबाट प्रतिबस मासिक २ हजार ५ सय रुपैयाँ लिने गरेका छन् । मासिक पैसा बुझाएपछि त्यस्ता सार्वजनिक सवारीलाई मनपरी गर्न दिइने गरेको छ । सोही अनुरूप त्यस्ता सवारीसाधनले झापाका सडकमा ओभर स्पिड कुदाउने, जथाभाबी यात्रु चढाउने र ओराल्ने गर्दै आएको देख्न सकिन्छ । यसरी असुलीका लागि सोडारीले सहायक हवल्दार बजगाईँलाई खटाउने गरेका छन् भने स्थायी तरिकाले लाइन तिर्नेहरू आफै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आएर पैसा बुझाउने गरेको स्रोतको भनाई छ ।

स्मरण रहोस् विगत ५ वर्ष अघिबाट बजगाईँ झापामै कार्यरत छन् । असुलीमा राम्रो दक्खल भएकै कारण उनी नयाँ आउने हाकिमको प्रियपात्र हुने गरेका छन् । यसरी अवैध रुपमा असुलिएको रकममध्ये केही आफूले राखेर बाँकी सोडारी र इन्स्पेक्टर गणेश पौडेलले लाने गरेका छन् ।

ट्राफिकको ध्यान असुलीमा मात्रै भएपछि दुर्घटना बढ्यो
झापामा गएको दसैँको अवधिमा ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान गुमाए । तथ्याङ्कले गत वर्षभन्दा यस पटक दुर्घटना बढेको देखाउँछ । गत शनिवार मात्र झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनामा एक पुरुषको ज्यान गयो । राजमार्गमा गुड्ने बसे ती पुरुषलाई करिब १५० मिटर घिसारेर ज्यान लियो ।

जसले झापामा सवारी दुर्घटनाको अवस्था कस्तो छ भन्ने देखाउँछ । दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने ट्राफिक प्रहरी भने बेखबर छ । आजकाल पूर्वपश्चिम राजमार्गमा खासै ट्राफिक चेकिङ छैन । जसले गर्दा सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरिरहेका छन् । ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्यूनीकरणमा जाओस् पनि कसरी दुर्घटना न्यूनीकरणमा ध्यान जाँदा मासिक लाखौँ अवैध कमाइ गुम्ने खतरा छ ।

तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर गणेश पौडेल भने बाटोको अवस्थाले सवारी दुर्घटना बढेको दाबी गर्छन् । यस्तै मातहतका कर्मचारीको असुलीका बारेमा समेत उनले आफूलाई जानकारी नभएको तर त्यस्तो पाइएमा तुरुन्तै कारबाही गरिने बताए ।

सम्बन्धित समाचार