दराज अनलाइनबाट झापाकी एक युवती ठगिएपछि...
दराज ज्यापुचः भन्ने अनलाइनले झापा बिर्तामोडकी एक युवतीबाट करिब १९ लाख रुपैयाँ ठगी गरेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले त्यति धेरै रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण कोरिया जान आइएलटीएस पढिरहेकी युवतीको लागि बैङ्क ब्यालेन्स देखाउन सेल्टा एजुकेट कन्सल्टेन्सीले उनको एनआइसी एसिया बैङ्कमा रहेको खातामा ३० लाख रुपैयाँ जम्मा गरिदिएको थियो । सो रकम दराज ज्यापुचः अनलाइनले ठगी गरेको हो ।
टास्क खेल्ने क्रममा उनले सो रकम डुबाएकी हुन् । पहिलो टास्कमा उनले ५०० रुपैयाँ खेल्दा ९०० रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यसपछि २००० खेल्दा ३५०० प्राप्त गरेपछि ६००० , ९०००, २६०००, ५९००० गर्दै मेलिसाबाट सो अनलाइनले १८ लाख ४४ हजार रुपैयाँ ठगी गरेको हो । अनलाइनले ३६ वटा टास्क निर्धारण गरेको र आफूले १५ वटा टास्क खेल्दै गर्दा सो रकम डुबेको उनले बताएकी छन् । अनलाइनले १,२ र ३ लेभल तोकेर तीन वटै लेभल पार गर्न सके ठुलो धनराशि जित्न सक्ने भनेर झुक्क्याएको थियो ।
पीडित युवती बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र आफ्ना अभिभावकसहित आइतबार उजुरी दिन इलाका प्रहरी कार्यालय बिर्तामोड आएकी थिइन् । बिर्तामोड प्रहरीकहाँ उजुरी दिँदा प्रक्रिया लामो हुने भएकाले साइबर ब्युरो काठमाडौँमै गएर उजुरी दिन आफूले सल्लाह दिएको डीएसपी प्रकाश विष्टले बताए । उनले यसरी अनलाइनबाट ठगिने क्रम बढ्दै गएको जानकारी दिएका छन् ।