२०८३ असार ५ गते , शुक्रबार

पक्राउ अघि पूर्व गृहमन्त्री रवि लामिछानेले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

sajilo news
काठमाडौं
२०८१ कार्तिक २ गते , शुक्रबार
पक्राउ अघि पूर्व गृहमन्त्री रवि लामिछानेले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकार मरेको र आफूलाई जुठो परेको उल्लेख गरेका छन्।

जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न शुक्रबार अनुमति दिएको छ। लामिछानेले आफूले कानुनलाई सघाउने बताएका छन्।

सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा लामिछानेलाई प्रहरीले पक्राउ गरेका छन्। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको समितिले ठहर गरेको थियो। 

उनको स्टाटस जस्ताको तस्तै 

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहिँ हतकडी ?? 
तपाईं  विचौलियाको सेवा गरेवापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने? 
तपाईं  प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुलम् खुल्ला लिने, मैले  ठगीको आरोप खेपी दिनुपर्ने। 
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने? 
यति गरेपछी भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईंले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाईहरूका  दलका  नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोहि फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईंहरू बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ। 
ठिक छ,म तपाईंहरूको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता व्याक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको  कुनियतले तिमीहरुलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।

सम्बन्धित समाचार