२०८३ असार ५ गते , शुक्रबार

भद्रपुरको जग्गा विवाद : नक्कली सँधियार नभई जग्गाधनी भएको खुलासा

sajilo news
झापा
२०८१ आश्विन २२ गते , मंगलबार
भद्रपुरको जग्गा विवाद : नक्कली सँधियार नभई जग्गाधनी भएको खुलासा

भद्रपुर । भद्रपुरको एउटा जग्गामा देखिएको विवाद नक्कली सँधियार नभई जग्गा धनी नै भएको वास्तविक तथ्य फेला परेको छ । वास्तविक संधियारलाइ जानकारी नै नगराई नक्कली सर्जमिन (मुचुल्का) बनाएर उद्योग स्थापनाको प्रक्रिया अघि बढाइएको भन्ने सूचना भ्रम मात्र भएको भन्दै जग्गा धनीले प्रमाण पेस गरेपछि  वास्तविक तथ्य पुष्टि भएको हो ।
 झापा भद्रपुर नगरपालिका—५ स्थित घना बस्तीको बिचमा ‘माता पाथीभरा भेनियर उद्योग’का लागि संयुक्त रुपमा सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा १ बिगाहा क्षेत्रफलमा उद्योग स्थापनाका लागि वडाबाट सिफारिस बनाएका थिए ।  
 कित्ता नं. १५ र १८ मा स्थापना हुन लागेको उद्योगमा वास्तविक सँधियारमा हेमकुमार घिमिरे,देव कुमार घिमिरे, लीलादास घिमिरे, सागर घिमिरे र आनन्द सरिया रहेका छन् । वडाले तयार गरेको सर्जमिन मुचुल्कामा पूर्वतर्फ आनन्द सरिया, पश्चिममा सडक, उत्तर र दक्षिणमा सागर घिमिरेलाई सँधियार बनाएर सिफारिस गरिएको उल्लेख छ ।

उत्तरका सँधियार हेमकुमार , देवकुमार र दक्षिण लीला दासको नाममा रहेको संयुक्त जग्गामा (काकाको छोरा) भाइ सागरलाई अनुमति दिएका थिए । नक्कली सँधियार राखेर सर्जमिन बनाएको भन्ने हल्ला चलेपछि सँधियार लीलादास घिमिरे र हेम कुमार घिमिरेले वास्तविक सँधियार भएको उल्लेख गर्दै वडा नम्बर ५ को वडा कार्यालयमा लिखित मन्जुरीनामा दिएपछि वास्तविक तथ्य पुष्टि भएको हो । उनीहरूले सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा रहेको जग्गामा कुनै आपत्ति नभएको पत्रमा उल्लेख गरेका छन् ।उनीहरूको जग्गामा भद्रपुरका महावीर मित्रुकाले उद्योग स्थापनाका लागि झापाको घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि सो कार्यालयले उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन भदौ ४ गते भद्रपुर नगरपालिका—५ लाई पत्र पठाएको थियो । उक्त पत्र अनुसार वडा कार्यालयले स्थलगत सर्जमिन मुचुल्का बनाएर दिएको थियो ।

घरेलु तथा साना उद्योगबाट प्रक्रियागत पुरा गरेर लिखित दिएको हुँदा वडाबाट सिफारिस दिएको भद्रपुर नगरपालिका—५ का वडाध्यक्ष बन्धु कार्कीले बताए । सर्जमिन मुचुल्का गलत नभएको र वास्तविक सँधियार नै रहेकोले सिफारिस गरेको उनले बताएका छन् । वास्तविक सँधियारले वडामा लिखित मन्जुरीनामा दिइसकेको उनले बताए । उद्योग नभई सामान राख्ने गोदाम जस्तो सञ्चालन गर्न लागिएको उद्योगी महावीर मित्रुकाले बताए । उनले सबै प्रक्रिया पुरा गरेर वडामा अनुमति पत्र दिएको बताए । पाँच जनाको हस्ताक्षरसहित वडामा सिफारिस मागेको र वडाले पनि अनुमति दिइसकेको उनले जनाए । नियमअनुसार नै प्रक्रिया अगाडि बढाएको उनले बताए । जग्गा मात्र दर्ता गरिएकोले गोदाम राख्ने नराख्ने भन्ने निश्चित नभएको उनको भनाई छ । सरला मित्रुका, सरिता मित्रुका र कोमल मित्रुकाले सागर घिमिरेबाट संयुक्त रुपमा जग्गा खरिद गरेको उनले बताए ।

 

सम्बन्धित समाचार