राज्यमन्त्री राजवंशीद्वारा ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन
भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गरेका छन् ।
राजवंशी साहित्य प्रकाशन समितिले कनकाई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र (राजवंशी सङ्ग्रहालय) मा एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गरेका हुन् ।
राजवंशी समाज विकास समितिद्वारा असोज २२ गते आयोजित सो कार्यक्रममा २०८१ सालको जात्रा पावनीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको सञ्जीव प्रधानले जानकारी दिए ।
त्यस अघि असोज २१ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई नेतृत्वमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी सहभागी टोलीले बिरिङ खोलाको बाढीबाट क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गरेको थियो ।
प्राविधिक सहितको सो टोलीले हालैको बाढीले शनिश्चरे—खुदुनाबारी–इलाम जोड्ने सडक र त्यसमा पर्ने बिरिङ पुलमा भएको क्षतिको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीमा पूर्व मुख्यमन्त्री उद्धव थापा, नेपाली काँग्रेसका झापा सभापति देउकुमार थेबे, भौतिक पूर्वाधार कार्यालय–झापाका डीई. राजेश्वर महतो, इन्जिनियर उत्तम खरेल सहभागी थिए ।
सो टोलीले बाढीका कारण जिल्लामा अन्य क्षेत्रमा भएका क्षतिको पनि अनुगमन गरी पुनर्निर्माण र व्यवस्थापनका लागि आवश्यक लागत अनुमान गर्ने बताइएको छ ।