२०८३ बैशाख २४ गते , विहीबार

प्रसाईँका समर्थकले आगजनी गरेको भारतीय ट्रक चालकको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन २० गते , आईतबार
प्रसाईँका समर्थकले आगजनी गरेको भारतीय ट्रक चालकको मृत्यु

बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु भएको छ । गत असोज ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए । उनीहरू आगजनी गरी फरार भएका थिए ।

ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने पछाडिको भागमा आंशिक क्षति पुगेको थियो ।

आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बङ्गाल मेडिकल कलेजमा भइरहेकोमा गए राति मृत्यु भएको हो । उनका आफन्तहरूले आज साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । उनीहरूले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पुर्‍याएका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

सम्बन्धित समाचार