चन्द्रगढीमा शाकाहारी परिकारसहितको हिमालय फुडल्याण्ड सञ्चालनमा
भद्रपुर । जिल्लाको सदरमुकाम भद्रपुर- ७ लेखनाथचोकस्थित चन्द्रगढीमा शाकाहारी खाद्य परिकारसहितको हिमालय फुडल्याण्ड सञ्चालनमा आएको छ । पारिवारिक वातावरणलाई लक्षित गरी मदिरारहित शाकाहारी खाद्य परिकारको हिमालय फुडल्याण्ड सदरमुकाममा पहिलो पटक सञ्चालनमा ल्याइएको हो । यसअघि राज भोग आइसक्रिम पार्लर सञ्चालनमा ल्याइएकी दीक्षा खनाल खतिवडाले अब फरक शैली र स्वाद लिएर फुडल्याण्ड सञ्चालनमा ल्याएकी हुन् । करिब २५ लाख लगानी रहेको फुडल्याण्डको भोलि बिहीबार घटस्थापनाको अवसरमा उद्घाटन गरिने उनले बताइन् ।
फुडल्याण्डमा जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा दिइएको छ । जन्मोत्सव मनाउन आउने व्यक्तिका लागि १ हजार ९९९ रुपैयाँमा केक, पिज्जा, बर्गर, बबल टी, फ्रेन्च फ्राई, पकौडा, मम, चाउमिन, एक बोतल कोक र पानी सहितको प्याकेज राखिएको छ ।
केक लिन नचाहनेका ग्राहकका लागि १ हजार ४९९ रुपैयाँको प्याकेज निर्धारण गरिएको सञ्चालक खतिवडाको भनाइ छ । उनका अनुसार झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा शाकाहारी खाद्य परिकार मात्र उत्पादन गरेर सेवा दिने फुडल्याण्ड नरहेकै कारण सुविधा सम्पन्न ३ वटा एसीसहितका क्याबिन तथा दुई वटा सामान्य क्वाविनबाट सेवा प्रवाह गरिने छ ।
कफी तथा पिज्जाका लागि अन्यत्र भन्दा फरक र उत्कृष्ट स्वाद सहित सेवा दिने जनाउँदै सञ्चालक खतिवडाले शुद्ध शाकाहारी खानाका लागि प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्य छ । होमडेलीभरीको पनि व्यवस्था रहेको उनले जानकारी दिइन् । कफी पिउनका लागि लाइबेरीको समेत व्यवस्था गरिएको छ ।