कालीमन्दिर टोल विकास संस्थाको रक्तदान
भद्रपुर । काली मन्दिर टोल विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर-७ स्थित पातालकाली भगवती मन्दिरको १३ औं वार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा दुई महिलासहित २० जनाले रगत दिएका थिए ।
मन्दिर समितिका अध्यक्ष जीवनमणि लम्सालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख पोखरेलले मन्दिरको भौतिक निर्माणमा पहल गर्ने बताए । समितिका अध्यक्ष लम्सालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष वासुदेव नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काली मन्दिर टोल विकास संस्थाका अध्यक्ष हुतराज उत्तम नेपालले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक मानबहादुर विश्वकर्मा र हेमकुमारी पोखरेललाई सम्मान गरिएको थियो । कार्यक्रममा ७ नम्बर वडाअध्यक्ष अभिषेक ढुङ्गाना, नवदुर्गा मन्दिरका अध्यक्ष यादवप्रसाद पोखरेल, पण्डित नीलमणि नेपाल लगायतले मन्तव्य राखेका थिए ।
समितिका सचिव मातृका तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ,रक्त सञ्चार सेवा भद्रपुरको प्राविधिक सहयोगमा रक्तदान भएको थियो । कार्यक्रममा फलफूल पानी, जुस लगायतको सामग्री भद्रपुर मारवाडी महिला मञ्चले सौजन्य गरेको थियो । मञ्चकी अध्यक्ष निलम गोयलको नेतृत्वमा आएको समूहले सामाजिक क्षेत्रमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।