कनकाई नदीमा पानीको बहाव घटेपछि दुई पालिकाको जनजीवन सामान्य बन्दै
कनकाई नदीको बाढी बस्तीमा पसेर अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ । त्यहाँ गएराति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरूलाई राहत मिलेको हो । कनकाईको बाढी घट्न थालेपछि त्यहाँको जनजीवन सामान्यीकरण बन्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
कनकाईको बाढीले बाँध भत्काउँदा गौरीगञ्ज– १ को ईश्वर बस्तीका ईश्वर माझीसहित २१ घर डुबानमा परेको थियो । बाढी पसेर धेरै बस्तीका मानिस विस्थापित बन्न सक्ने देखेर राति नै नेपाली सेना ,सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ राखिएको प्रहरी उपरीक्षक केसीले बताए । कनकाईको बहाव गौरीगञ्ज– १ को होकलबारीतिर बगिरहेको छ । होकलबारीमा करिब १२० घरधुरी रहेका छन् । हालसम्म कुनै घर चुवानमा नपरे पनि यसरी नै त्यसतर्फ खोला बगिरहने हो भने डुबान हुन सक्ने सम्भावना बढेर गएको छ ।
यता कनकाईको बाढीले झापा गाउँपालिका वडा नं १ र २ का आधा दर्जन बढी बस्तीमा पानी पसेको थियो । मिलनवस्तीका २० परिवारलाई सितुमारी मनोज मित्तल प्राथमिक विद्यालयमा राति नै स्थानान्तरण गरिएको थियो । त्यस क्षेत्रमा पनि पानी घट्दै गएको जनाइएको छ ।