२०८३ असार ४ गते , विहीबार

काठमाडौं उपत्यकाका नदीले देखाए आफ्नो क्षेत्र !

sajilo news
पत्रपत्रिका
२०८१ आश्विन १३ गते , आईतबार
काठमाडौं उपत्यकाका नदीले देखाए आफ्नो क्षेत्र !

काठमाडौँ ।  बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निर्क्योल भएको छैन। भीषण वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदीखोलाले भने फेरि आफ्नो विस्तारित बाटो देखाए। असोज १० गतेदेखि मुसलधारे वर्षा हुँदा पानीको सतह बढेपछि बहाव क्षेत्र खोज्दै उपत्यकाका नदी र खोला आफ्नो बाटो खोज्दै शहर र बस्तीतर्फ सोझिएका हुन्। 

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, सर्वोच्च अदालतको फैसलामाथि पक्ष र विपक्षमा बहस भइरहँदा असोजको लगभग मध्यमा आफ्नो  विस्तारित क्षेत्र देखाएका हुन्। काठमाडौँ उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरी वा स्वाभाविक क्षेत्रमा समेत निर्मित भौतिक संरचना शुक्रबार र शनिबारको वर्षाका कारण डुबानमा परे। काठमाडौँ, ललितपुर र भक्तपुरमा खोला-नदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेजमा बाढी पसेर समस्या भयो। बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोलामा बाढीको भेल उर्लिंदा किनारका बस्ती डुबानमा परेका हुन्। 

बागमती नदी किनारका बस्ती 

शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, शङ्खमूलसहित, थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ। 

विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, संगम टोलसहित विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी र अन्य खोला अतिक्रमित क्षेत्रमा बाढी पसेर जनजीवन अस्तव्यस्त भयो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नदी र खोला किनारका सबै बस्ती डुबानमा पसेको बताए। 

किनारका ठूला संरचना डुबानमा 

काठमाडौँ उपत्यकामा नदी र खोला किनार अतिक्रमण गरी विस्तार गरिएका करोडौँका संरचना बाढीको बेगबाट अछुतो रहेनन्। हनुमन्ते उर्लिएर आउँदा नेकपा एमालेको कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठान डुबानमा पर्‍यो।

साबिकको नक्खुखोलाको बहाव क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएको मेडिसिटी अस्पताल प्रशासनले यो पटक बाढीको समस्या बेहोरेको छ। अस्पतालको पूर्वतर्फ रहेको नक्खुखोलाको बहाव क्षेत्रमा नै सारेर मेडिसिटी अस्पतालको क्षेत्रफल विस्तार गरिएको थियो। ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा कर्मनासा खोला पसेको छ। अस्पतालले पनि कर्मनासा खोला मिचेर परिसर विस्तार गरेको आरोप छ।

त्यसैगरी बल्खुस्थित वयोधा अस्पतालमा पनि बागमती नदी र बल्खु खोलाको दोहोरो बहाव सोझिँदा डुबान भएको छ। त्यसै गरी धोबीखोलाको बाढीले बुद्धनगरस्थित रोजबड स्कुलको भुइँ तला डुबाएको छ। धोबीखोलाकै बाढी बिजुलीबजारस्थित प्रभु बैङ्कको कार्यालयसहित विभिन्न व्यापारिक केन्द्रको पहिलो तलामा पानी पसेको छ। 

त्यसैगरी मनोहरा खोलाको बाढी मनोहरा बस्तीमा पस्दा बस्ती डुबानमा पर्‍यो। धोबीखोला किनारका शान्ति विनायक, देवीनगर, विशालनगर, कालोपुल, पाथीभराचोकसहित विभिन्न क्षेत्रका डुबानमा परेका छन्।   अनामनगर, राधाकृष्ण चोक, मूलपानी, कपन, रामहिटी, सुकेधारालगायतका क्षेत्र पनि डुबानमा परेका छन्।

सम्बन्धित समाचार