२०८३ असार ४ गते , विहीबार

झापामा २३६ मिलिमिटर वर्षा, जनजीवन कष्टकर

sajilo news
झापा
२०८१ आश्विन ११ गते , शुक्रबार
झापामा २३६ मिलिमिटर वर्षा, जनजीवन कष्टकर

झापामा शुक्रबार सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको केचना केन्द्रमा २३६ मिलिमिटर वर्ष भएको छ। 

शुक्रबार विहान ८:४५ बजे मापन गरिएका २२२ केन्द्रमध्ये झापाको केचना केन्द्रमा अत्याधिक वर्षा भएको हो। विभागका अनुसार ७१ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने १७ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको मापन गरिएको छ।

१०० मिलिमिटर बढी मापन गरिएका जिल्लामा इलाम, सिरहा, कञ्चनपुर, कैलाली, मोरङ, सप्तरी र उदयपुर रहेका छन्। त्यस्तै रौतहट, तनहुँ, सुनसरी, अर्घाखाँची, नवलपरासी, धनुषा, सर्लाही, गुल्मी, महोत्तरी, चितवन, पाल्पा, रुपन्देही, धनकुटा, पर्वत, मकवानपुर, पर्सा, स्याङ्जा र पाँचथरमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। 

मनसुन सक्रिय भएकाले देशका ५६ जिल्लामा 'रेड अलर्ट' जारी गरिएको छ। अत्यधिक वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गर्ने चेतावनीसमेत दिइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी, बागमती, पश्चिम राप्ति, बबईमा बाढीले शनिबार खतरा तह पार गर्ने चेतावनी दिएको हो।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषतः नारायणीको देवघाट, बागमतीको पधेरादोभान, पश्चिम राप्तिको कुसुम र बबईको चेपाङमा सतर्कता अपनाउन आग्रह गरिएको छ। 

त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा शुक्रबार सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले खतरा तह पार गर्नसक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ। 

सम्बन्धित समाचार