२०८३ बैशाख २४ गते , विहीबार

झापामा ट्रक जलाएको आरोपमा ९ जना पक्राउ

sajilo news
झापा
२०८१ आश्विन ९ गते , बुधबार
झापामा ट्रक जलाएको आरोपमा ९ जना पक्राउ

झापामा दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ९ जना समर्थक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सहसचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ।

प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१ स्थित धरमपुर बजारबाट र चौधरीलाई सोमबार दिउँसो साढे ४ बजे बिर्तामोड ७ स्थित गरामनिबाट पक्राउ गरेको थियो। 

त्यस्तै अन्य सातलाई बिर्तामोडस्थित नयाँ बस पार्कबाट गएराति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू स्कोरपियो गाडी चढेर काठमाडौँ भाग्न खोज्दा जिल्लाको टोलीले पक्राउ गरेको जनाइएको छ। झापा संयोजक तुम्बापो र चौधरीमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ। 

झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइसकेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। पक्राउ परेका अन्य व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ। 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेसँगै पक्राउ परेका उनीहरूले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए। साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ।

सम्बन्धित समाचार