२०८३ असार ४ गते , विहीबार
चट्याङ लागेर घाँस काट्दै गरेकी आमाको मृत्यु, छोरी घाइते
मोरङ जिल्लाको रङ्गेली नगरपालिका- ९ धनजुवामा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। लखिराम हेमरमकी श्रीमती ४५ वर्षीया साक्रो हेमरमको मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि दुई किलोेमिटर पश्चिममा रहेको धान खेतमा घाँस काट्दै गर्दा उनलाई चट्याङ लागेको थियो । सोही समयमा घाँस काट्दै गरेकी उनकी छोरी २२ वर्षीया विनीता हेमरम पनि चट्याङको चपेटामा परिन्, जसका कारण उनको कानबाट रगत निस्किए पनि उनलाई सामान्य चोट लागेको छ।
इलाका प्रहरी कार्यालय दोहमनाले घटनाबारे जानकारी पाएपछि तुरुन्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाएको थियो। घाइते विनीतालाई रङ्गेली अस्पतालमा उपचारका लागि पठाइएको रङ्गेली इलाका प्रहरी कार्यालयले जनाएको छ ।