तीन बर्षयता झापाको कनकाई नदीमा डुबेर २५ जनाको ज्यान गयो
कनकाईको दोमुखामा करिब दुई साताअघि बेपत्ता भएका किशोर नभेटिरहेका बेला कनकाई नदीमै डुबेर अर्का एक व्यक्तिको ज्यान गएको छ । कनकाईमा लगातार डुबेर ज्यान जाने क्रम बढ्दो छ । यस क्रममा शनिवार थप एक जनाको मृत्यु भएको हो । शिवसताक्षी नगरपालिका १० स्थित टेक्रामा पानीमा डुबिरहेको अवस्थामा दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उत्तानो परेको , अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि पठाइएको र अहिलेसम्म मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।
गत भदौ २४ गते शिवसताक्षी १० स्थित दोमुखामा रहेको कनकाईमा भद्रपुर नगरपालिका-५ बस्ने १७ वर्षीय फिरोज खान र बिर्तामोड नगरपालिका- २ बस्ने १८ वर्षीय उज्ज्वल राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सोही साँझ फिरोजको शव भेटिएको थियो भने उज्वलको शव अझै भेटिएको छैन । ती किशोरको अझै खोजी भइरहेको प्रहरी निरीक्षक मगरले बताए ।
कनकाई नदीमा डुबेर मृत्यु हुनेहरूको तथ्याङ्क डरलाग्दो छ । तीन वर्षको अवधिमा कनकाईमा डुबेर २५ जनाले ज्यान गुमाएका छन् । यो चालु आर्थिक वर्षमा झन् क्षति बढेको छ । साउनदेखि असोज ५ सम्म कनकाईमा डुबेर ५ जनाको मृत्यु भइसकेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आर्थिक वर्ष २०७८- ०७९ मा ६ पुरुष र ३ महिला गरी ९ जना , ०७९-०८० मा ५ पुरुष ,१ महिला , १ बालक र १ बालिका गरी ९ जना र ०८०-०८१ मा २ पुरुष , १ महिला , ३ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको हो । यसै आर्थिक वर्षमा २ बालक, २ महिला र १ पुरुष गरी ५ जनाको मृत्यु भएको हो ।
कनकाईमा मृत्यु हुनेहरूको तथ्याङ्कलाई हेर्दा बर्सेनि बढ्दै गएको देखिन्छ । गर्मी याममा पौडी खेल्न जाँदा धेरै बालबालिकाहरूले ज्यान गुमाएका छन् । त्यस्तै ७० वर्षका माथिका व्यक्तिहरू मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसैगरी नदीमै नुहाउन , लुगा धुन , गाई वस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको प्रहरी निरीक्षक मगरले बताए ।
कनकाई नदीमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । तर क्षति न्यूनीकरण हुनुको साटो अझ बढ्दै गएको छ ।