मेची पुल निर्माणको आन्दोलनमा जेल बसेका भुर्तेल र भण्डारीलाई सम्मान
भद्रपुर । प्रजातन्त्र सेनानी संघ झापाले भद्रपुरको मेची पुलको पुरानो इतिहाससॅग सम्बद्ध दुई ऐतिहासिक व्यक्तित्वलाई सम्मान गरेको छ।२०२८ सालमा मेची पुल बनाउन सङ्कलन गरिएको रकम तत्कालीन युवराज वीरेन्द्रलाई बुझाइएको विरुद्ध आन्दोलन गर्ने भद्रपुरका दिव्य भुर्तेल र मेचीनगरका याम भण्डारीलाई सम्मान गरिएको हो।
मेची पुल बनाउन खातिर त्यति बेला धान चामल निकासीबाट उठाइएको लगभग २८ लाख रुपैयाँ युवराजलाई टक्राएको विरोधमा आन्दोलन गर्दा तत्कालीन सरकारले उनीहरूलाई ३ वर्ष जेलमा थुनेको थियो।
त्यस कारण पनि सो घटनालाई ताजा बनाउँदै बुधवार नवगठित प्रजातन्त्र सेनानीले भद्रपुरको मेची पुलमै पहिलो कार्यक्रम आयोजना गर्दै उपलब्ध दुई व्यक्तित्वको सम्मान र सो घटनामा जेल परेका शिव भुर्तेल, मोहनलाल अग्रवाल लगायतलाई स्मरण गरेका थिए । कार्यक्रममा सेनानी संघका झापा अध्यक्ष सिटौला, उपाध्यक्ष ज्ञानमणि भुर्तेल, सञ्चारकर्मी चन्द्र भण्डारी र सम्मानितद्वय भुर्तेल र भण्डारीले मन्तव्य राखेका थिए ।