अर्जुनधारामा पूजाको प्रसादी खादाको प्रकरण : १० जनामा इन्टामिवा हिस्टोलाइटिका कीटाणु फेला

बिर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी हुनेहरूमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट कीटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए ।
यस्तै, थप १५ जना बिरामीको दिसाको कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चिमरियाको भनाई छ । उनका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखा पर्ने गरेको छ । बिरामीहरू अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएपछि बिरामी भएका थिए । दिउँसो १२ बजे खानेहरूलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरू ९९ प्रतिशत बिरामी भएको बताइएको छ । पूजामा प्रसाद खाएकै कारण बिरामी पर्नेहरू आज ७३ जना शनिश्चरे अस्पतालमा भर्ना गरिएको थियो । त्यसमध्ये ३८ जनालाई मेची प्रादेशिक अस्पताल रेफर गरिएको छ । उपचार पश्चात् बुधबार ५१ जना घर फर्किएका थिए । त्यसमध्ये ४८ जना बिहीबार पनि पुनः अस्पताल भर्ना भए ।
बिरामीहरूलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या देखिएको छ । बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्यको टोली अस्पताल पुगेको थियो । शनिश्चरे अस्पतालले ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरेर बिरामीहरूको उपचार गरिरहेको छ । स्वास्थ्य जनशक्ति अभाव भएपछि सबै वडाबाट बोलाइएको थियो ।