अर्जुनधारामा पूजाको प्रसादी खाएर फुड पोइजन घटना : डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्ना
झापाको अर्जुनधारामा पूजाको प्रसादी खाएर फुड पोइजन भएकाहरू पुनः अस्पताल भर्ना हुन थालेका छन् । स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्नासँगै बिहीबार नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए ।
उनका अनुसार बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार नयाँ र पुराना गरी ७३ जना बिरामीको उपचार भइरहेको छ । ६ वर्षदेखि ७७ वर्ष सम्मका वृद्धालाई फुड पोइजन भएको जनाइएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ । १५ शय्या शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएका कारण १० वर्षमुनिका र ७० वर्षभन्दा माथिका ३९ जना बिरामीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर रेर्फर गरिएको उनले बताए ।
मंगलबार अर्जुनधारा नगरपालिका- ९ स्थित खरबन्दी निवासी रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएको केही समय पश्चात् नै अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण देखा परेको थियो। के भएर यति धेरै जना बिरामी परेको भनेर अनुसन्धान गर्न पाँच जनाको रगत र दिशा परीक्षण लगाइएको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।