२०८३ असार ४ गते , विहीबार

बिर्तामोड नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक

sajilo news
झापा
२०८१ भाद्र २६ गते , बुधबार
बिर्तामोड नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरको सभा हलमा आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाईँ, उप–प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन् ।
नगरले यसअघि नै आर्थिक वर्ष २०८१/०८२ का लागि नगरका सबै क्षेत्रलाई समेटेर एक अर्ब, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो ।
नगर उपप्रमुख सङ्ग्रौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिए । उनले तीन वटा पालिकालाई एउटै विकासको गति दिन पनि उप–महानगरपालिका बनाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले बोलेका थिए ।
नगर प्रमुख प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर उप–प्रमुख सङ्ग्रौलाले स्वागत गरेका थिए भने सञ्चालन नगरका शाखा अधिकृत मेघराज बास्तोलाले गरेका थिए । कार्यक्रममा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार