झापाकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु, परिवारद्वारा घटनाबारे छानबिन गर्न माग
प्रकाश उप्रेती । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको छ । अस्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्नीदेखि केही दुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शङ्कास्पद अवस्थामा फेला पारेको हो ।
दीक्षा एक दिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य व्यापार `एभरेस्ट बुचरी´मा पार्ट टाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रवि प्रसाईँ सोही `बुचरी´ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबी र तुलनामाया सँगै ड्युटी जाने र सँगै फर्केका थिए । अर्को दिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै ड्युटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउन्टर सोझै देखिन्थ्यो । काउन्टरमा दीक्षालाई नदेखेपछि रविले खोजीकार्य बढाएको उनको भनाई छ । छोरी दीक्षा हराएकी रहिछ, दीक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, `अघिल्लो दिन गफ गरेकी छोरीलाई पटक-पटक फोन गर्दा लागेन अनि ज्वाइँ रविलाई गरेपछि मात्रै हराएको कुरा थाहा भएको थियो ।
सिड्नी सहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ सहरमा कतै झुक्किई होला भन्ने लाग्दै ज्वाइँलाई खोज्न आग्रह गरे ।´ सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराए लगत्तै रविलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रविले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दीक्षालाई न रविले नै भेटे न स्थानीयले । रविले रडेल र सिड्नी पुलिस स्टेसन पुगेर बेपत्ता भएकी पत्नी खोजी दिन भन्दै निवेदन गरेका थिए । अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयानुसार १०:४ बजे पसलबाट निस्किएकी दीक्षालाई झन्डै २५ किलोमिटर दुरीमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शङ्कास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुसन्धानकै क्रम रहेकाले उनको शव हालसम्म परिवारलाई दिएको छैन ।
दीक्षाको मृत्यु कि हत्या ? २०५३ सालमा जन्म भई २७ वर्षकी दीक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शङ्कास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भने पनि आत्महत्या दुरुत्साहनको कानुनी प्रक्रिया अघि बढाउने दीक्षाको माइती पक्षको भनाइ छ । दीक्षा झापा मेचीनगर-१४ रामनगरस्थित उनका बुवा टङ्कप्रसाद र आमा अम्बिका सिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु विदेशमै छन् । शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार-सहयोगी मनकी धनी दीक्षाको मृत्युको खबरले परिवार, आफन्त र मेचीनगर-११ र १४ घर छिमेकी शोकमा डुबेका छन् ।
माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो बढेको छ । अस्ट्रेलियास्थित विभिन्न संस्थाको भनाई: उता सत्य तथ्यका लागि प्रहरीको अनुसन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथीभाइ या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ । घटनाको हुलियाको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दीक्षाको माइततिर `सुसाइड´ घटना हो भनेर खबर गरेपछि घटना शङ्कास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ । यद्यपि अस्ट्रेलियन प्रहरीले कुनै दबाब र प्रभाव बिना त्यसको सत्य तथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ, उप्रेतीले भने,`अस्ट्रेलिया आएकै ४ महिनामा मृत फेला हुनुको रहस्यमय, शङ्कास्पद र पहिलो घटना हो । यसअघि पनि यस्ता घटना भए तर, यति छोटो समयमा चैँ घटना भएको थिएन ।´
बहुसङ्ख्यक नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा भएको घटना रहस्यमय भएको गैर आवासीय नेपाली समाज `एनआरना´ संयोजक दिनेश पोख्रेलले बताए । प्रहरीको अनुसन्धानकै क्रममा भएकाले त्यसलाई सघाउने र परिवारलाई एक्लै भएको महसुस नगर्नसमेत संयोजक पोख्रेलले आग्रह गरे । उनले अस्ट्रेलियामा रहेका कुनै पनि समस्यामा परेका नेपालीले सम्पर्क गर्नसमेत आग्रह गरे । दीक्षा र रविको वैवाहिक सम्बन्ध कसरी बड्यो: अनामनगरस्थित श्रीकृष्ण प्रसाईँका छोरा रविले गत २०८० असार २९ गते दीक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए ।
बिहेपछि रविका लागि दीक्षा दोस्रो पत्नी बनिन्। बिहेपछि सिड्नीकै पिआर कार्ड प्राप्त रबी अस्ट्रेलिया प्रस्थान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर बसेका रबी र विदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध विच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी विवाह भएको थियो । रविको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छन् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा `चाइल्ड हेल्प´ अन्तर्गत रविले नै लालनपालनको खर्च बेहोर्दै आएका छन् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।