२०८३ असार ४ गते , विहीबार

मेची राजमार्ग बन्द गर्ने कार्यक्रमबाट पछि हट्यो वाइसीएल

sajilo news
झापा
२०८१ भाद्र २६ गते , बुधबार
मेची राजमार्ग बन्द गर्ने कार्यक्रमबाट पछि हट्यो वाइसीएल

मेचीनगर । दलीय सहमति पश्चात वाइसीएल नेपालले बुधबारदेखि मेची राजमार्ग बन्द अर्थात चक्काजामसहित सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

बद्धशान्तिका वाइसीएल अध्यक्ष पंकज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नवीन विष्टलाई पक्राउ गरी कारबाही गर्नका लागि दबाब दिन वाइसीएलले मंगलबार पत्रकार सम्मलेन गरी मेची राजमार्गमा बन्द गर्ने चेतावनी दिएको थियो ।

हिजै नेकपा एमाले , नेपाली काँग्रेस र नेकपा माओवादीका प्रतिनिधिहरुबीच छलफल भएर मौखिक सहमति भएकोले वाइसीएलले चक्काजाम स्थगित गरेको बताइएको छ । उनीहरूबिच आज बिहान लिखित सहमति हुने जनाइएको छ । प्रहरीले पनि आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिन अनुरोध गरिसकेको छ । 

पार्टी प्रतिनिधिबीच सहमति भएको कुरा सुनेर आफूहरूले चक्काजाम स्थगित गरेको वाइसीएल नेपाल झापाका अध्यक्ष डेबिट शाही ठकुरीले बताए ।मेची राजमार्ग सडक खण्डअन्तर्गत मेचीनगर–१२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियारसहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले दाबी गरेको छ ।

ट्याक्सी चालकले अनियन्त्रित ढङ्गले सवारी चलाएको र सो सवारी चालकलाई शेर्पाले रोक्न लगाई सम्झाई बुझाई गरेसँगै घटना मिलिसकेको अवस्थामा पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाइ नवीन विष्टले एक्कासि घरेलु हतियार, बाइकको हेलमेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले दाबी गरे । शेर्पाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सम्बन्धित समाचार