दमक गौहत्या प्रकरण : तीन भुटानी शरणार्थीसहित चारजना पक्राउ
झापा । झापाको दमक गौहत्या घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये ती नजना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर विष्ट, भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एटु – १२० बस्ने ३२ वर्षीय विधान थापा र दमक नगरपालिका ४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ गरेको डीएसपी चन्दले बताए । पक्राउ परेका विष्ट यसअघि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए । त्यस्तै दुलाल पनि यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए । थापा पनि यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए ।
गत भदौ १८ गते राति दमक नगरपालिका २ का लक्ष्मण विष्टको दमक १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधी राखेको दुई महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले काटेका थिए । उनीहरूले टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा ,करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेको अवस्थामा फेला परेको थियो ।
घटनापश्चात् फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरूको कोठाबाट भदौ २१ गते बरामद गरिएका डीएसपी चन्दको भनाई छ ।, उनीहरूमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।