२०८३ असार ४ गते , विहीबार

मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये इलामका युवकको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र २१ गते , शुक्रबार
मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये इलामका युवकको मृत्यु

झापाको बुट्टावारिमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका- ५ का २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा शुक्रबार बिहान बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका- ११ गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैचा नगरपालिका १० बस्ने २८ वर्षीय सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएको थियो । बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका ६ बस्ने ३१ वर्षीय सञ्जय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार