२०८१ भाद्र २४ गते , सोमबार

भद्रपुरका १० जना संघर्षशील महिलालाई सम्मान

sajilo news
झापा
२०८१ भाद्र २० गते , विहीबार
भद्रपुरका १० जना संघर्षशील महिलालाई सम्मान

भद्रपुर  । तीज पर्वको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले विभिन्न क्षेत्रमा योगदान दिने संघर्षशील महिलाहरूलाई सम्मान गरेको छ । संघकी भद्रपुर नगर सभापति प्रमीला कोइरालाको अध्यक्षता तथा नेपाली काँग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा श्रमिक महिला, शिक्षक, प्राध्यापकलगायतका महिलाहरूलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरूमा प्रभा घिमिरे पूर्व प्रधानाध्यापक, कमला पोखरेल दाहाल पूर्व प्राध्यापक, शान्ता बराल वाणिज्य बैंककी पूर्व प्रमुख, रीमा पाण्डे पूर्व नर्स, सुधा खड्का भद्रपुर नगरपालिकाकी पूर्व प्रशासकीय अधिकृत, रञ्जु शर्मा सामाजिक अभियन्ता, लक्ष्मी घिमिरे पूर्व स्वास्थ्य स्वयंसेविका र सुशीला पौडेल महिला सौन्दर्यकला व्यवसायी रहेका छन् । यसैगरी श्रम क्षेत्रमा संघर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक– एक जना श्रमिक महिला छनौट गरी नगद तथा सारीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा काँग्रेस नेता सिटौलाले लोकतान्त्रिक व्यवस्थामा मात्र महिला अधिकार सुनिश्चित हुने धारणा राख्दै हरेक क्षेत्रमा संघर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताए । उनले जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्ने भन्दै संघर्षको मैदान नै जीवन जिउने आधार भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, काँग्रेस झापाकी पूर्व महासमिति सदस्य तारा भुर्तेल, महिला नेतृ शर्मिला अधिकारीलगायतले मन्तव्य राख्दै समाजमा विशेष योगदान दिने महिलाको सम्मानले सकारात्मक सन्देश दिएको धारणा राखेका थिए ।

सम्बन्धित समाचार