२०८१ भाद्र २४ गते , सोमबार
दीपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’
भद्रपुरका उद्योगी दीपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’ प्रदान गरिएको छ । राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रहरूमा आफ्नो कुशल नेतृत्वदायी क्षमता प्रस्तुत गर्दै पुर्याएको योगदानको कदर गर्दै ढकाललाई सम्मान गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच ढकाललाई सम्मान गरिएको हो । उनलाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कार्यक्रमका अध्यक्ष कवीन्द्रविक्रम नेम्वाङ, युनियनका सचिव भानुभक्त भट्टराई, नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
रोटरी क्लब भद्रपुरका पूर्व अध्यक्ष रहेका ढकाल भद्रपुर झापा गोल्डकप र झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष छन् । उनी दर्जनौँ सामाजिक सङ्घसंस्थामा आबद्ध रहेका छन् ।