२०८३ असार ४ गते , विहीबार

कुवेतमा अलपत्र बिर्तामोडकी फातमाको उद्धार

sajilo news
झापा
२०८१ भाद्र १३ गते , विहीबार
कुवेतमा अलपत्र बिर्तामोडकी फातमाको उद्धार

कुवेतमा अलपत्र परेकी झापा बिर्तामोड नगरपालिका- १ की ४१ वर्षीया फातमा बेगमको उद्धार  हुने  भएको छ ।

डेढ महिनाअघि घरेलु कामदारको रुपमा कुवेत गएकी बेगमलाई काम लगाउने मालिकले घरबाट निकालिदिएपछि उनी अलपत्र परेकी थिइन् । दिनभरि घरको काममा लगाउने , रातभरि बगैचामा काम गर्नुपर्ने , सुत्न नदिने , खान नदिने , घरमा फोन गर्न पनि नदिने गरेपछि बेगम विरामी भएकी थिइन् । त्यसपछि बेगमलाई मालिकले एक रात र दुई दिन घर बाहिर राखेको उनका श्रीमान् मोहम्मद अजाजले बताए ।

अलपत्र अवस्थाकी बेगमलाई कुवेतमा रहेको नेपाली दूतावास पुर्याइएको थियो । विगत एक सातादेखि उनी दूतावासको आश्रयमा भएपनि आवश्यक डकुमेन्ट र हवाइ टिकटको अभावमा घर फर्किन सकेकी थिइनन् । ३ लाख रुपैयाँ दिएमात्र बेगमको डकुमेन्ट फिर्ता गर्ने भनेर एजेन्टले दुःख दिन खोजेका थिए । आफ्नी श्रीमती अलपत्र परेपछि अजाज सहयोगका लागि भौतारिरहेका थिए । उनी संचारकर्मीहरुसंग सहयोग माग्न आएका थिए ।

तालिमूल कुरान बिर्ताबजारका अफ्रोज खानको पहलमा भारतको दिल्लीमा रहेका एजेन्टलाई बेगमको पासपोर्टलगायतका डकुमेन्ट दूतावासमा बुझाउन लगाई नेपालबाट हवाई टिकट पठाएपछि उनी नेपाल फर्किन पाउने भएकी हुन् । उनको सोमवारको हवाई टिकट रहेको खानले जानकारी दिए । बेगम केदारनाथ भन्ने भारतीय एजेन्टमार्फत फ्रिभिसामा दिल्लीबाट कुवेत गएकी थिइन् ।

यसअघि पनि बेगम कुवेत गएकी थिइन् । त्यसबेला राम्रो काम पाएपनि विरामी भएर उनी स्वदेश फर्किएकी थिइन् । अजाज सिटी रिक्सा कुदाउँछन् । उनीहरुका ७ वर्षका छोरा रहेका छन् ।

सम्बन्धित समाचार