२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा समाजवादी मोर्चाद्वारा घर जग्गा कब्जाको घोषणा

sajilo news
झापा
२०८१ भाद्र ७ गते , शुक्रबार
बिर्तामोडमा समाजवादी मोर्चाद्वारा घर जग्गा कब्जाको घोषणा

बिर्तामोड  । वैज्ञानिक समाजवादी मोर्चा नेपालले बिर्तामोड-१ स्थित बाल्मीकि एजुकेसन फाउन्डेसन अगाडि रहेको सुवास कटुवालको जमिनमा बनेको घर कब्जा गरिएको घोषण गरेको छ ।
पार्टीका जिल्ला संयोजक आशिष् लिम्बूलगायत ५/६ जनाको समूहले प्रेस विज्ञप्ति र झन्डा टाँगेर घरजग्गा कब्जा भएको ब्यानर राखेका छन् ।
कटुवालले बिर्तामोड नगरपालिका–१ बस्ने होम चौधरीलाई २०५७ सालमा आफ्नो खेतीपाती गर्न ल्याएको र त्यसबापत स्थायी रुपमा बसोबास गराइदिने भनेर आश्वासन दिएकोमा हाल विभिन्न मुद्दा मामिला, धाक धम्कीसहित उक्त जग्गाबाट निकाल्न दबाब दिएको भन्दै सो पार्टीले उक्त घरजग्गा कब्जा भएको ब्यानर राखेका हुन् ।
चौधरीलाई कटुवालले धाक धम्की दिँदै घर निकाला गर्न लागेपछि पीडितलाई न्याय दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीद्वारा जारी विज्ञप्तिमा चौधरीलाई घर जग्गा दिलाउनका लागि छलफल गरी आवश्यक निर्णयमा नपुगुन्जेल घर जग्गा संगठनको कब्जामा रहने भनिएको छ ।
यसअघि गत साउन २२ गते एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै वानर टाँगेको थियो ।
बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियो । सो घर कब्जा गरेको भन्दै महाअभियानले राखेको वानर भोलिपल्ट प्रहरीले हटाएको थियो ।

त्यस्तै गत वर्ष कपिलमणि शिवाकोटीको बिर्तामोड ५ मा रहेको जग्गामा परेको अरू व्यक्तिको घर हटाउन खोज्दा विप्लव माओवादी नेतृत्वको कम्युनिस्ट पार्टीले वानर राखेर कब्जाको घोषणा गरेको थियो । सो वानर पछि प्रहरीले हटाएको थियो ।

सम्बन्धित समाचार