कनकाई नगरपालिकाको मजदुरलाई मालिक बनाउने योजना अलपत्र, लाखौंको लगानी 'बालुवामा पानी'
कनकाई । झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्त्वाकाङ्क्षी योजना अलपत्र परेको छ ।स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्त्वाकाङ्क्षी योजनाका साथ कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता कायम रहेको कनकाई—७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड हाल अलपत्र अवस्थामा पुगेको हो ।
आजभन्दा पाँच वर्ष अघि कनकाई नगरपालिकाले एक करोडको बजेट व्यवस्थापन गरी निर्माण सुरु गरेको उद्योग स्थलको घेराबारामा साढे अठार लाख र एउटा भवन(उत्पादन घर) साथै कार्यालय भवनसहित शौचालय निर्माणमा १५ लाख बढी नै खर्च भई जम्मा निर्माण कार्यमा मात्रै साढे ३३ लाख भन्दा बढी नै खर्च भएको तत्कालीन उपभोक्ता समितिका सचिव प्रेमप्रसाद अधिकारी बताउँछन् ।नगरपालिकाबाटै आर्थिक कारोबार हुने भएकाले यस योजनाका लागि अन्य केही शीर्षकमा खर्च भएको छ भने पनि आफूहरूलाई थप जानकारी नभएको समितिका सचिव अधिकारीले बताए ।
कनकाईको वडा नं.७, दुर्गापुर बजार पूर्वतर्फ एक बिगाहा १७ कट्ठा जमिनमा वरिपरि प्लम उठाएर तारजाली सहित व्यवस्थित घेराबारा गरेर फलामे गेट लगाएको उद्योग क्षेत्र अहिले दुव्र्यसनीहरुको सुरक्षित स्थल बनेको स्थानीयबासी बताउँछन् । बिरिङ खोलाको बगरमा घाँसपात र रुख बोटबिरुवाले ढाकेको एकान्त ठाउँमा रहेको उद्योग क्षेत्रको आसपासमा यति बेला साँझ बिहानको समयमा जोकोही पनि एक्लै हिँड्न सक्ने अवस्था नरहेको बताइएको छ ।
प्रारम्भिक चरणमा पेवर्स(ब्लक) उत्पादन गर्ने त्यसपछि क्रमिक रूपले ह्युमपाइप र विद्युत् पोल उत्पादन गर्ने योजना रहेको उद्योग क्षेत्रभित्र एउटा भवन (उत्पादन घर), उद्योगको कार्यालय भवन, शौचालय साथै उत्पादन भएका सिमेन्टका सामग्री भिजाउने प्रयोजनका लागि एउटा पोखरी निर्माणको कार्य तत्कालीन समयमै सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष मातृका पोखरेल बताउँछन् ।
कनकाई नगर क्षेत्रकै मजदुरहरूलाई प्राथमिकतामा राख्ने नगरको महत्त्वाकाङ्क्षी योजनाको निर्माण स्थलमा विद्युत् विस्तारका लागि उद्योगमा आवश्यक पर्ने कालो तारको समेत व्यवस्थापन मिलाइसकेको र अब विद्युत् मिटर राख्ने काम मात्र बाँकी रहेको बताइएको छ ।विद्युत् मिटरसहित सामग्री निर्माणका लागि आवश्यक फर्मा तथा मेसिन औजारको व्यवस्थापन हुन सकेमा तत्काल उद्योग सञ्चालनमा आउन सक्ने अवस्था रहेको समितिका अध्यक्ष पोखरेलले जानकारी दिए । उद्योग सञ्चालनमा आउन सके स्थानीय मजदुरहरूले प्राथमिकताका साथ काम पाउनुका साथै कनकाई नगरपालिकाको दिगो आर्थिक स्रोतको एउटा भरपर्दो माध्यम बन्न सक्ने सरोकारवाला बताउँछन् ।
निर्माण कार्य सम्पन्न भएपछि तत्कालीन समयमा मेसिन खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाउन उपभोक्ता समितिले नगरपालिकालाई घचघच्याएपछि टेन्डर आव्हान गरिएको थियो । तर सामग्री खरिदका लागि आवश्यक भन्दा कम्ती दररेट राखेर बोलपत्र आह्वान भएका कारण कुनै पनि सप्लायर्सले टेन्डर नहालेपछि रोकिएको कामले हालसम्म पनि निरन्तरता पाउन नसकेको बताइएको छ ।उद्योग सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट उपभोक्ता समितिलाई आजका दिन सम्म थप केही निर्देशन नभएका कारण अब के हुन्छ भन्ने कुरा अन्यौलता रहेको बताइएको छ ।
नगरकै महत्त्वाकाङ्क्षी योजनाको अवस्थाका बारेमा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले यस योजनाको पछिल्लो अवस्थाका बारेमा आफूलाई केही पनि जानकारी नभएको बताए । नगरपालिकाको कार्यपालिका बैठकमा समेत श्रमिक स्वावलम्बन उद्योगका बारेमा केही पनि छलफल नभएका कारण यस विषयमा आफू केही पनि भन्न नसक्ने प्रवक्ता राईले प्रस्ट पारे । आफू कनकाई नगरपालिकाको नाम मात्रको प्रवक्ता भएको भन्दै राईले प्रवक्ताले खेल्नु पर्ने भूमिका साथै काम, कर्तव्य र अधिकारका बारेमा नगरपालिकाले आफूलाई औपचारिक रुपमा त्यस्तो केही पनि अनुमति नदिएका कारण आफ्नो वडा देखी बाहेक अरू विषयमा आफूलाई केही पनि थाहा नहुने जानकारी दिए । मजदुरलाई मालिक बनाउने उद्योगका विषयमा थप कुराकानी गर्न नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसँग नगरपालिकामै गएर समय माग्दा ‘कार्यक्रममा जानु पर्ने छ, ढिला भइसक्यो’ भन्दै रिपोर्टिङमा गएका पत्रकारलाई समय उपलब्ध नगराई नगर प्रमुख पोखरेल नगरपालिका परिसरबाट बाहिरिएका थिए ।
मजदुरहरूलाई विशेष प्राथमिकतामा राखेका कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरबाट आफूले पाउने वर्षभरिको भत्ता बापतको सुविधा मजदुर हित कोषमा जम्मा गरिदिएर अत्यन्तै महत्त्वपूर्ण कामको सुरुवात गरेका थिए । मजदुरहरूलाई आपत् विपत् पर्दा सहयोग गर्ने, बिमाको व्यवस्था गर्ने साथै सस्तो ब्याजमा ऋण उपलब्ध गराउने गरी स्थापना भएको कनकाई मजदुर हित कोषको संरक्षकको जिम्मेवारीमा नगर प्रमुख पोखरेल रहेका छन् । कोष स्थापनाको प्रारम्भिक चरणमा केही राम्रो लक्षण देखिएको भए पनि क्रमिक रूपले निष्क्रिय बनेको मजदुर हित कोषको अवस्थाका बारेमा हाल मजदुरहरू नै बेखबर रहेको कोषको समितिमा रहेका एक जिम्मेवार मजदुर बताउँछन् ।
कनकाई नगर क्षेत्रमा बिजुली, प्लम्बर, पेन्टर, कङ्क्रिट उद्योग, राज मिस्त्री, ग्रिल उद्योग, ट्याम्पो, सफारी, छोटा हात्ती, सबै किसिमका सवारी साधनको ग्यारेज, लोड अनलोड, निर्माण लगायतका क्षेत्रमा काम गर्ने १० हजार भन्दा बढी मजदुरहरू क्रियाशील रहेकोमा हाल काम साथै उचित दाम पाउन छाडेपछि धेरै मजदुरहरू पलायन भएको स्वतन्त्र मजदुर संगठन कनकाई नगर समितिका पूर्व अध्यक्ष साथै वर्तमान प्रमुख सल्लाहकार केशर न्यौपानेले जानकारी दिए । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै मजदुरहरूको समेत सुनिश्चित भविष्यका लागि केही आशा पलाएको भए पनि कार्यान्वयन पक्ष कमजोर भएकाले क्रमिक रूपले अधिकांश मजदुरहरूमा निराशा छाएको मजदुर नेता न्यौपाने बताउँछन् ।