मेचीनगर नगरपालिकाको नेतृत्वमाथि खनिए ६ दल, बुझाए २१ बुँदे ज्ञापनपत्र

मेचीनगर नगरपालिकाको नेतृत्व स्वेच्छाचारी बनेको भन्दै विपक्षी छ वटा दलले विरोध जनाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले आज बिहान नारा जुलुससहित नगरपालिकामा २१ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मेचीनगरपालिकाले बिना पूर्व तयारी पूर्वाधार उपयोग दैनिक सवारी कर लागू गरी केही दिनमा नै स्थगित गरेकाले आगामी दिनमा कुनै पनि सार्वजनिक महत्वको विषयमा निर्णय गर्दा सरोकारवाला पक्षहरूसँग व्यापक छलफल गरेर मात्रै निर्णयमा जान उनीहरूले सचेत गराएका छन् ।
त्यस्तै मेचीनगरको छुट जग्गा वर्गीकरण प्रक्रियाले सम्बन्धित जग्गाधनीहरूले दुःख र सास्ती भोग्नु परिरहेको आम जनगुनासो आएकाले व्यवहारिक, छिटो र छरितो ढङ्गबाट जग्गा वर्गीकरण प्रक्रिया लागु गर्नुपर्ने , मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएकाले यसरी अनियन्त्रित उत्खनन हुँदासमेत नगरपालिकाको कार्यालयले प्रभावकारी अनुगमन नगर्दा नगरको राजश्व समेत अपचलन भएकोले सर्वदलीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याई दोषीउपर कडा कारबाही गरिनुपर्ने , मेचीनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले स्थानीय एफएममार्फत अन्तरवार्ताका क्रममा नगरपालिकामाथि लगाएको भ्रष्टाचारजस्तो गम्भीर आरोपको विषयमा सर्वदलीय छानबिन समिति गठन गरी सत्य तथ्य जनतासमक्ष ल्याउनु पुर्नेलगायतका माग गरिएको छ ।
ज्ञापन पत्रमा काँग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजवादीका तर्फबाट क्षेत्रीय संयोजक भास्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले हस्ताक्षर गरेका छन् ।