एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौँमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन्।
त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए। उनका अनुसार सम्मानित नेतामा पनि झलनाथ खनाल दोहोरिएका छन्। बाँकी रहेका पदमा शुक्रबार बिहानसम्म टुङ्गो लगाइने बताइएको छ।
भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए। असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन आज सकिँदैछ। ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन। भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने गरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो। एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो। प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो। केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ।