कोशी प्रदेश पुरुष हक्की टिमको बिदाइ
बिर्तामोड । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ ।
झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरूलाई बिदाइ गरेको हो । प्रतियोगिता यही असार १० गतेदेखि १२ गतेसम्म हुनेछ ।
पाँचौँ संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप २०८१ मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा जिल्लाबाट रहेका छन् ।
सामाजिक अगुवा तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको बिदाइ कार्यक्रममा उनले खेलाडीहरूलाई उच्च मनोबलका खेल्न प्रोत्साहन गरेका थिए ।
बिदाइ कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका अध्यक्ष मनोज बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुशल खतिवडा, व्यवसायी विपिन बजगाईँ र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।
प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १५ र १४ तथा भद्रपुर ९ पुँहातुबारीका रहेका छन् । पोखरामा खेल्ने टिमको प्रशिक्षकमा दीपक खतिवडा रहेका छन् ।