२०८३ बैशाख २३ गते , बुधबार

विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप लामिछाने

sajilo news
झापा
२०८१ जेष्ठ २८ गते , सोमबार
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कम्तान सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्।  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने सहभागी हुने जानकारी दिएसँग सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।

वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन्।

‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु’ उनले भनेका छन्,‘ सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’ 

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कृपया मेरो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्नुहोस् जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्। हाम्रा सबै क्रिकेट फ्यानहरू र  जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु।’

लामिछानेले आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयले टी–२० विश्वकपमा भाग लिन सम्भव बनाएको जनाउँदै क्यानका पदाधिकारीलाई समेत धन्यवाद दिएका छन्।  

सम्बन्धित समाचार