२०८३ बैशाख २३ गते , बुधबार

अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हरायो

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २७ गते , आईतबार
अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हरायो

अष्ट्रेलियाले आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो। बार्बाडोसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो। 

अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक ब्याटिङ गरे। ओपनरद्वय ट्राभिस हेड र डेविड वार्नरले आक्रमक सुरुवात दिलाएका थिए। पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर आउट भएपछि साझेदारी तोडिएको थियो। उनले १६ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोडे। हेडले १८ बलमा ३६ रन बनाए। कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए। इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।

जवाफमा राम्रो सुरुवात गरेपनि मध्यक्रम नचल्दा इंग्ल्यान्ड ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाउँदै पराजित हुन पुग्यो । आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो। उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

जाम्पाले साल्टलाई बोल्ड गरेर आफ्नो अर्को ओभरमा कप्तान बटलरलाई पनि आउट गरे। बटलरले २८ बलमा ४२ रनको योगदान दिएका थिए। विल ज्याक्स १० र जोनी बेयरस्टो ७ रनमा आउट भए।​ मोइन अलीले २५, ह्यारी ब्रुकले २० र लियाम लिभिंगस्टोनले १५ रन मात्र जोडे। प्याट कमिन्स र एडम जाम्पाले २र२ विकेट लिए।

अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबायाको २ खेलमा २ अंक छ। इंग्ल्यान्डको १ अंक र ओमान अंकविहिन छ।

सम्बन्धित समाचार