इलाम माईजोगमाई अध्यक्ष कपको फाइनल
इलाम । इलाम इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले अन्तिम २ मा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेश गरेसँगै इलामले कम्तीमा १ लाख २१ हजार १ सय ११ रुपैयाँ सुरक्षित गरेको छ ।
इलामको जितमा प्रिन्स शेर्पा र कप्तान प्रदीप विष्टले गोल गरे । माईजोगमाईका लवकुश राईले एक गोल फर्काए । खेलको २५ औ मिनेटमा प्रिन्सले इलामलाई अग्रता दिलाए । ३८ औ मिनेटमा लवकुशले खेल बराबरीमा ल्याए । ४० औ मिनेटमा कप्तान प्रदिपले हेडर मार्फत गोल गर्दै इलामलाई फाइनलमा प्रवेश गराए । खेलको म्यान अफ दि म्याच इलामका डिफेन्डर पुष्कर दाहाल घोषित भए । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा देउमाई नगरपालिका र सूर्योदय नगरपालिका भिड्नेछन् ।
देउमाईले चुलाचुली तथा सूर्योदयले फाकफोकथुम गाउँपालिका र माई नगरपालिका हराएका थिए । आगामी बैशाख ३१ गते हुने फाइनल खेलको विजेताले २ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगितामा इलामका १० पालिका सहभागी थिए ।